काठमाडौँ । दक्षिण अफ्रिकाले आइसीसी विश्व टेस्ट च्याम्पियनसिप जितेको छ । फाइनल खेलमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले पहिलो पटक विश्व टेस्ट च्याम्पियनसिप जितेको हो ।
अस्ट्रेलियाले दिएको २८२ रनको लक्ष्य पछाइरहेको दक्षिण अफ्रिकाले चौथो दिन ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
दक्षिण अफ्रिकाका लागि एडन मार्क्रम महत्वपूर्ण १३६ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै कप्तान टेम्बा बभुमाले ६६ रन बनाएका थिए भने रयान रिकेलटन ६, विआन मुल्डर २७ रन र ट्रीस्टान स्टब्सले ८ रन बनाएका थिए । त्यस्तै डेभिड बेडिङघमले अविजित २१ रन बनाएका थिए ।
यस टेस्टमा टस हारेर पहिला ब्याटिंग गर्दै अस्ट्रेलियाले २१२ रन बनाएको थियो भने दक्षिण अफ्रीकाले पहिलो इनिंगमा १३८ रन मात्र बनाएको थियो । पहिलो इनिंगमा ७४ रनको महत्वपूर्ण अग्रता हासिल गरेको अस्ट्रेलियाले दोस्रो इनिंगमा २०७ रन बनाउदै दक्षिण अफ्रिकालाई २८२ रनको लक्ष्य दिएको थियो ।
यो जितपछि दक्षिण अफ्रिका आइसीसी प्रतियोगितामा सेमिफाइनल र फाइनल पुगेर उपाधि विहिन हुने क्रम तोडिएको छ । दक्षिण अफ्रिकाले १९९८ पछि पहिलो पटक कुनै पनि आइसीसी प्रतियोगिता जितेको छ ।
विश्व टेस्ट च्याम्पियनसिप जितेसँगै दक्षिण अफ्रिकाले ३.६ मिलियन डलर पुरस्कार पाएको छ । त्यस्तै उपविजेता अस्ट्रेलियाले २.१६ मिलियन डलर पुरस्कार पाएको छ ।
विश्व टेस्ट च्याम्पियनसिपको शुरुवात २०१९ देखि भएको थियो । पहिलो फाइनल २०२१ मा खेलिएको थियो र पहिलो विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्यूजील्याण्डले जितेको थियो । फाइनलमा न्यूजील्याण्डले भारतलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
त्यस्तै दोस्रो विश्व टेस्ट च्याम्पियनसिपको फाइनल २०२३ मा भएको थियो । सो फाइनल अस्ट्रेलियाले जितेको थियो । दुवै पटक फाइनलमा भारत पराजित भएको थियो । यस फाइनलमा अस्ट्रेलियाले भारतलाई २०९ रनले पराजित गरेको थियो ।
प्रतिकिर्या