काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले विश्वविद्यालयको शिक्षक कर्मचारीसम्बन्धी नियमावली, २०५५ र आर्थिक नियमावली, २०५५ सेवा आयोग र पुनरावेदन समितिसम्बन्धी नियमावली, २०५७ सहित विभिन्न नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको हो ।
२- नेप्से परिसूचकमा आज बढेको छ । आज नेप्से २२.०४ अंकले बढेर २७०५. ९० विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका एक करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
३- कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले अहिले देशमा करिब ९५ हजार टन मल मौज्दात रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री अधिकारीले खेती गरिएको बाली र मलको सिफारिस मात्राको आधारमा वार्षिक मलको आवश्यकता करिब ११ देखि १३ लाख मेट्रिक टन रहेको जानकारी दिदै हाल करिब ९५ हजार टन मल मौज्दात रहेको बताएका हुन् ।
४- म्याग्दी जिल्लाको धवालागिरी गाउँपालिका–४ स्थित बाँसबोटको भिरबाट खसेको पहिरोले थुनिएको म्याग्दी नदी ओभर फलो भएर बग्न शुरु गरेको छ । स्थानीय प्रशासनले तटिय क्षेत्रमा बसोबास गर्नेहरूलाई सजक रहन अपील गरेको छ । धवालागिरी गाउँपालिकाले सूचना जारी गर्दै म्याग्दी खोला थुनिएको र खोलामा पानीको बहाव बढेकोले सतर्क रहन आग्रह गरेको छ ।
५- राप्रपाको अनुशासन समितिको अध्यक्षमा सांसद रोशन कार्की नियुक्त भएकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम वरिष्ठ नेता उपाध्यक्ष, प्रतिनिधिसभा सदस्य रोशन कार्कीलाई केन्द्रीय अनुशासन समितिको अध्यक्ष पदमा मनोनयन गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । त्यस्तै अध्यक्ष लिङ्देनले प्रवक्ता सगुन सुन्दर लावतीलाई प्रवक्ता पदबाट पदमुक्त गरेको श्रेष्ठले जानकारी दिएका छन् ।
६- गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा अमेरिका गएर रवि लामिछाने उतैको नागरिक कसरी बने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै रवि लामिछाने भिजिट भिसामा गएर अमेरिकाको नागरिक बन्न पाइन्छ की पाइदैन भन्दै प्रश्न गरेका हुन् । साथै मन्त्री लेखकले यो विषय आफुले सुनेको कुरा भएकाले यस विषयमा स्पष्ट जानकारी दिएर मात्र अरु विषयमा चर्चा गर्न आग्रह गरेका छन् ।
७- नेकपा एमालेकी सांसद सुनिता बरालले रास्वपा सांसद सोबिता गौतमलाई संसदमा जथाभावी नबोल्न चेतावनी दिएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले संसद अफवाह फैलाउने र गलत प्रचार गर्ने थलो नभएको बताउदै गौतमलाई संसदमा जथाभावी नबोल्न चेतावनी दिएकी हुन् ।
८- गृहमन्त्री रमेश लेखकले भोटेकोशीमा आएको भिषण बाढीका कारण रसुवाको गोसाईकुण्ड गाँउपालिका– २ को रसुवागढीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन् । बुधबार प्रतिनिधीसभामा बोल्दै गृहमन्त्री लेखकले रसुवा विपद्मा घटनामा हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना सर्वसाधारण नेपाली एवं ६ जना चिनिया नागरिक गरी १९ जना बेपत्ता भएको जानकारी दिए । मन्त्री लेखकले बेपत्ताहरुको खोजीकार्यका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको बताए ।
९- काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा सहभागी भएर केही मानिस नफर्किएको बताएको स्पष्ट गरेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद गौतमले आफुले बोलेको कुराको अर्कै विश्लेषण गरिएको भन्दै प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल फर्केको सत्य भएको र सो कार्यक्रममा धेरै मानिस गएकोमा उनीहरु नफर्किएको बताएकी हुन् ।
१०- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. दीपक अर्याल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रा. डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा. डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दिपक अर्याललाई सिफारिस गरेको थियो ।
११- नारायणघाट-बुटवल सडकको अवरुद्ध रहेको दाउन्ने-बर्दघाट सडकखण्ड एकतर्फी सुचारु भएको छ । गएराती दाउन्ने-बर्दघाट सडकखण्डको खुर्साने खोला नजिकै सडकको केही भाग रातीको बर्षाको कारण बग्न गएकोले हाललाई सो सडक खण्ड पूर्ण अवरुद्ध भएको थियो । नारायणघाट-बुटवल सडक योजनाले सडक आवश्यक मर्मत गरि एकतर्फी सडक सुचारु गरेको जानकारी दिएको छ ।
१२ - प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापन उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई नगद रु ६५ लाख पुरस्कार–प्रमाणपत्र प्रदान गरियो । यस्तै गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एसियन कबड्डी च्याम्पियन (महिला) मा कास्य पदक विजेता खेलाडी मनमति विष्टसहितलाई रु एक लाख ५० हजारका दरले पुरस्कार दिइएको छ । यस्तैगत असोज २० देखि २६ गतेसम्म श्रीलङ्का भलिबल सङ्घको आयोजनामा श्रीलङ्कमा भएको काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितलाई रु तीन लाखका दरले पुरस्कार दिइएको छ ।
१३- नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव पेश गरेको छ । महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा महासंघका पदाधिकारीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई भेटेर आगामी मौद्रिक नीतिको लागि सुझाव पेश गरेको हो । महासंघले अर्थतन्त्रमा देखिएको सिथिलता, वित्तीय क्षेत्रको जोखिम, र अनौपचारिक क्षेत्रको ठूलो हिस्सालाई केन्द्रविन्दुमा राख्दै, सुधारोन्मुख अर्थतन्त्रलाई गति दिन, निजी क्षेत्रको मनोबल बढाउन, र सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिमलाई सम्बोधन गर्ने नीतिगत सुधारहरूको आवश्यकतामा जोड दिएको छ । शुसासन र पूर्वाधारको कमीले नीतिगत सुधारको प्रतिफल प्राप्त हुन नसकेको भन्दै महासंघले मौद्रिक नीतिका मुख्य सुझावहरूमा पूर्वाधार निर्माणलाई लक्षित गरी मौद्रिक नीतिगत योजना सञ्चालन गर्नुपर्नेमा जोड दिएको महासंघका कार्यबाहक अध्यक्ष श्रेष्ठले बताए ।
१४- स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् ।
आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन् । कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट क्यान्सर, मुटु,मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।
१५- सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर नजिकै मंगलबार साँझ सडकमाथिबाट खसेको पहिरोमा परी एक पुरुषको ज्यान गएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पहिरोमा परी पाल्पा रामपुर-६ का ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको हो ।
१६- भारतको मध्यप्रदेशस्थित पन्ना टाइगर रिजर्भको सबैभन्दा जेठी हात्ती वत्सलाको मृत्यु भएको छ । उमेरका कारण कमजोर भएको हात्ती वत्सला नाली नजिकै खसेको र पछि अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । वत्सलालाई भारतमा जीवित हात्तीहरूमध्ये सबैभन्दा जेठो हात्ती मानिन्थ्यो । मूल रूपमा केरलाको निलाम्बुर वन डिभिजनमा हुर्केकी वत्सलालाई १९७१ मा मध्य प्रदेश ल्याइएको थियो । १९९३ मा उनलाई पन्ना राष्ट्रिय निकुञ्जमा ल्याइएको थियो । २००३ देखि उनलाई विशेष हेरचाह दिइँदै थियो । २०२० मा, वत्सलाले मोतियाबिन्दुको कारणले आफ्नो दृष्टि गुमाएको तर साथी हात्ती र माहुतहरूको सहयोगमा, जंगलमा घुमिरहेको रिपोर्टमा बताइएको छ ।
१७- अमेरिकी विमानस्थलहरूमा जाँचको क्रममा यात्रुहरूले अब जुत्ता फुकाल्नु नपर्ने भएको छ । यातायात सुरक्षा प्रशासनले दुई दशक पछि सुरक्षा जाँचको लागि जुत्ता फुकाल्ने नीति समाप्त गरेको छ । होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले यो परिवर्तन अमेरिकाका सबै विमानस्थलहरूमा तत्काल प्रभावबाट लागू गरिएको र बहुस्तरीय जाँच प्रक्रिया कायम रहने बताएकी छन् ।
१८- अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले तालिबानका सर्वोच्च नेता हिबातुल्लाह अखुन्दजादा र अफगानिस्तानका प्रधानन्यायाधीश अब्दुल हकिम हक्कानीविरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ । उनीहरू दुवैमाथि अफगान महिला, युवतीहरू र तालिबानको कठोर लिङ्ग नीतिहरूको विरोध गर्नेहरूलाई यातना दिएको आरोप छ । यी वारेन्टहरू मानवता विरुद्धको अपराध अन्तर्गत जारी गरिएको छ । यो पहिलो पटक हो जब आईसीसीले तालिबानको शीर्ष नेतृत्व विरुद्ध यस्तो कानुनी कदम चालेको छ ।
१९- चेल्सी जारी फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा चेल्सीले ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । चेल्सीको जितमा जोआओ पेड्रोले दुवै गोल गरेका थिए । पेड्रोले खेलको १८औं र ५६औं मिनेटमा गोल गरेका थिए । अब चेल्सीले फाइनलमा पिएसजी र रियल म्याड्रिडबीचको सेमिफाइनलको विजेतासँग खेल्ने छ । दुवैबीचको सेमिफाइनल खेल आज राति हुदैछ । त्यस्तै फाइनल खेल जुलाई १३ मा हुने छ ।
२०- यौन दुर्व्यवहार गरेको आरोपमा भारतीय क्रिकेटर यश दयालविरुद्ध एफआईआर दर्ता गरिएको छ । रोयल च्यालेन्जर्स बैंगलोरबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने यश दयालविरुद्ध भारतको उत्तर प्रदेशको गाजियाबादस्थित इन्दिरापुरम प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
प्रतिकिर्या