खेलकुद

एसिया र विश्वकप यो हातले उचाल्नु छ : U १९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतो


erastriya शुक्रबार, मंसिर १४, २०८१

महोत्तरी, १४ मङ्सिरः यु–१९ नेपाली महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले आसन्न एसियाकप र विश्वकप जित्नु अहिलेको अर्जुनदृष्टि भएको बताउनुभएको छ । युएईमा सम्पन्न दुईवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको छनोट प्रतिस्पर्धा जितेर गृह जिल्ला महोत्तरी आउनुभएकी १८ वर्षीया पूजाले रासससँगको सङ्क्षिप्त कुराकानीमा मुलुक फर्कदा सबै क्षेत्रबाट पाएको सम्मानले हर्षविभोर बनाउनुका साथै थप दायित्व बोध बढाएको बताउनुभयो । 

 पछिल्लो समय खेलप्रति आम रुपमा जागेको चासो र विश्वासले नेपाली खेल जगत्ले अबका दिनमा झनझन सफलताको सिँढी चढ्ने उहाँको विश्वास छ । प्रस्तुत छ, कप्तान महतोको महोत्तरीको गौशाला–९ डुमरवानास्थित घरमै क्रिकेटमा उहाँको लगाव र भविष्यका बारेमा रासस जिल्ला सम्वाददाता गोपाल बरालले गर्नुभएको सङ्क्षिप्त कुराकानीको सम्पादित अंश : 

युएईबाट छनोट प्रतिस्पर्धा जितेर फर्केदेखि तपाईंलाई सम्मान र पुरस्कार लिन भ्याइनभ्याइ परेको छ । यसमा कस्तो महसुस गर्नुभएको छ ?

 युएईबाट छनोट प्रतिस्पर्धा जित्न सक्दा म निकै हर्षविभोर छु । छनोट प्रतिस्पर्धाको जितले नै यहाँ कति उत्साह दिएको रहेछ भन्ने त मप्रति दर्साइएको स्नेह र सम्मानले नै देखाएको छ । यहाँ आइपुग्नासाथ मधेस प्रदेश सरकार, स्थानीय तहहरु, विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था , खेलकुद जगत र आम सर्वसाधारणबाट पाएको स्नेह र सम्मानले अबका दिनमा अझ राम्ररी अघि बढ्न हौसला र ऊर्जा दिएको छ । खेलप्रति र खासमा क्रिकेटप्रति बढेको यो चासोले अबका दिन खेलका लागि राम्रो समय आउला भन्ने आशा जागेको छ । 

तपाईं ग्रामीण परिवेशको सामान्य किसान परिवारमा जन्मनु भएकी महिला । क्रिकेटमा कसरी जोडिनु भयो ? 

 हो, तपाईंले भन्नु भएजस्तै म ग्रामीण परिवेशको सामान्य किसान परिवारमै जन्मिएकी हुँ । यहाँको खेतीपातीले घर धान्न धौधौ परेपछि मेरा पिता रञ्जित महतो परिवारसहित कामको खोजीमा भारतको दिल्ली पुग्नुभयो । हामी तीन दिदीबहिनी र एउटा भाइ त्यहीं (दिल्ली) बस्न थाल्यौँ । मेरी कान्छी बहिनी आरती र भाइ कृष्ण दिल्लीकै एकेडेमीमा क्रिकेट सिक्थे । म उनीहरुलाई पुर्‍याउन जान्थे । त्यहींँ प्रशिक्षकले खै ममा के देख्नु भएर हो, मलाई पनि खेलाउन थाल्नुभयो । मैले चार वर्षदेखि खेलको अभ्यास थालेकी हुँ । 

 केही समयपछि भाइ एउटा खेलमा सहभागी हुन नेपाल आए । उनको नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंहसँग भेट भएछ । भेटमा भाइले ‘मेरी दिदी पूजा पनि राम्रो खेल्नुहुन्छ, उहाँलाई टिममा राख्नु न’ भनेछन् । भाइ दिल्ली फर्केर मेरो खेलका तस्बिर र भिडियोहरु उपाध्यक्ष सिंहलाई पठाउँदा रहेछन् । मेरो खेल भिडियो र तस्बिरमा हेर्नु भएका उपाध्यक्ष सिंहले मलाई नेपाल झिकाएर खेलाउने निर्णय लिएर मेरा पिताजीसँग समन्वय गर्नु भएअनुसार म काठमाडौ पुगेँ । उपाध्यक्ष सिंहको पितृवत् कुशल अभिभावकत्व पाएँ । उहाँकै निर्देशन पालना गर्दै अघि बढ्दै जाँदा जिल्ला, प्रदेश हुँदै अहिले देशकै यू–१९ नेपाली महिला क्रिकेट टोलीको कप्तान बन्न सकेको छु । जे उपलब्धि देखिएको छ, पाइएको छ, त्यो क्यान र हाम्रो टोलीको साझा मेहनतको प्रतिफल हो । 

 

अब के योजनामा हुनुहुन्छ ? 

 ल, यो पनि भन्नु पर्छ र ! अब केही सातामै (नोभेम्बर मध्यमा)मलेसियामा एसियाकप प्रतियोगिता हुँदैछ । लगत्तै एक महिनापछि डिसेम्बरमा विश्वकप हुँदैछ । अब अहिलेको सपना भन्नुस्, ध्येय वा लक्ष्य भन्नोस्, यी दुवै प्रतियोगितामा सफलता हात पार्नु हो । मलेसियामा आयोजना हुने यी दुवै प्रतियोगिता जित्नु अहिले हाम्रो टोलीको एकमात्र अर्जुनदृष्टि हो । 

 

अन्त्यमा केही भन्नुहुन्छ कि ? 

 हजुर, मधेसमा प्रदेश सरकारले केही वर्षअघिदेखि ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चालन गरेको छ । अब ‘बेटी खेलाउ’ पनि भन्न प¥यो भन्ने मेरो आग्रह छ । खेलले किशोर र युवा उमेरका हाम्रा दिदीबहिनीको शारीरिक सुगठन मजबुत हुनुको साथै घरबाहिरका गतिविधिमा सक्रियता बढाउँछ । अनुशासन सिकाउँछ । मनभित्रको दुर्वलता हटाउँछ । यसपालिको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि अहिले जारी छ । खेलमा बढीभन्दा बढी महिला सहभागिताले लैङ्गिक विभेदविरुद्धको अभियानलाई पनि सघाउँछ भन्ने मेरो विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित
एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

चैत २३, २०८१

त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

चैत ०६, २०८१

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक
साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

चैत ०४, २०८१

प्रथम आइजिपी कप पुरूष क्रिकेट प्रतियोगिता सुरू
प्रथम आइजिपी कप पुरूष क्रिकेट प्रतियोगिता सुरू

फागुन २७, २०८१

ताजा अपडेट

  • विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

    विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

  • रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी

    रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधि…

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस